अमेरिकामा नेपालीले चलाएकाे कार दुर्घटना हुँदा दुई नेपालीकाे मृत्यु, काठमाडाैंका श्रेष्ठसहित दुई नेपाली घाइते
एजेन्सी, मंसिर ८ ।
अमेरिकाको भर्जिनिया राज्यस्थित च्यान्टिलीनजिकै कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ ।
स्थानीय समयानुसार शुक्रबार मध्यराति कार दुर्घटना हुँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-७ का सुरेश केसीको मृत्यु भएको हो । यस्तै दुर्घटनामा बर्दियाका विवेक सुवेदीको पनि मृत्यु भएको छ भने काठमाडौंका मेहुल श्रेष्ठसहित दुई जना नेपाली घाइते भएका छन् । अस्पतालमा उपचाररत् उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
स्थानीय सञ्चार माध्यमकाअनुसार दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वेनजिक भएको हो । ठक्कर दिने कारचालक पनि नेपाली नै रहेका छन् ।
चालक ३० वर्षीय नेपाली विजय तामाङलाई पक्राउ गरी दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ । अहिले उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको छ ।
चालक तामाङले अत्यधिक मादक पदार्थ पिएर कार चलाएकाले दुर्घटना भएको आशंका त्यहाँको प्रहरीले गरेको छ । कार अनियन्त्रित भई सडक बाहिर उछिट्टिँदै रुखमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रतिक्रिया