काठमाडाैं उपत्यकाबाट हराएका २७ वटा माेटरसाइकल तथा स्कुटर फेला पारी धनीलाई हस्तान्तरण
काठमाडाैं, मंसिर १३ ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न समयमा हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज बिहीबार आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ वटा मोटरसाइकल र नौ वटा स्कुटर सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका हुन् ।
उनले कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरेका सवारी साधनलाई आज धनीलाई बुझाइएको बताए । कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नयाँ बसपार्क, सोह्रखुट्टे, मालिगाउँ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगरलगायतका स्थानबाट फेला पारेको थियो ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतर्वेदीले हराएका सवारी साधन नम्बर प्लेट नक्कली हालेर चलाएको अवस्थामा फेला पारिएको बताए । ट्राफिक प्रहरीले हालसम्म २ सय १० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । यस्तै, सवारी साधन चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय तथा वृत्तमा पठाइसकेको प्रवक्ता चतुर्वेदीले बताए ।
ट्राफिक प्रहरीले आ.व. २०७९-०८० मा ४ सय ९९ र २०८०-०८१ मा ४१७ दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ । सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न सबैलाई ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया