अवरुद्ध भएको संसद खोल्नका लागि प्रमुख प्रतिपक्ष दल सहमतिमा

काठमाडौं, जेठ १३ ।
व्यवस्थापिका संसद्को अवरुद्ध भएपछि बैठक सुचारु गराउनका लागि आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ ।
उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले उठाएको मागहरू बैशाख ३१ को पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्न र टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्ष सहमत भएपछि संसद बैठक अघि बढाउने सहमति भएको हो ।
बैठकमा सहभागी नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टीको माग सम्बोधन गर्न सत्तापक्ष तयार भएकाले आजैदेखि संसद्को बैठक सुचारू हुने बताए । उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भएको बताए ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गराउन र सरकारको नीति तथा कार्यक्रम पारित गराउनलगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिका साथ अघि बढ्ने समझदारी भएको थियो ।
प्रतिक्रिया