मधेशमा राजपासँग रुष्ट हुँदै चार सय नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

सर्लाही, जेठ १३ ।
राष्ट्रिय जनता पार्टी (राजपा)ले निर्वाचनलाई विथोल्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेकै दिन सर्लाहीमा उक्त पार्टीका चार सय भन्दा धेरै नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
राजपाको एक घटक महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीका सह महामन्त्री रामचन्द्रसिंह कुशवाहाको नेतृत्वमा चार सय भन्दा धेरै नेता कार्यकर्ता उक्त पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिएका छन् ।
सर्लाहीको ईश्वरपुरमा गत शनिवार आयोजित चुनावी सभामा नेता पोखरेलले नव प्रवेशीहरूलाई अबिर र माला लगाएर आफ्नो पार्टीमा भित्र्याएको हो । कार्यक्रममा नेता कुशवाहाले मधेशवादी दलहरूबाट मधेशको हित हुने सम्भावना नदेखेपछि माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।
उनले मधेशको प्रगतिको लागि चुनाव अपरिहार्य रहेको भन्दै अब जुनसुकैै हालतमा चुनाब सफल बनाउन लागि पर्ने स्पष्ट पारे ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य प्रल्हाद बुढाथोकी, पोलिटव्यूरो सदस्य डाचाराज वाग्लेलगायतको सहभागिता थियो । कुशवाहाको नेतृत्वमा तमसपा, एमाले लगायतका राजनीतिक पार्टीका केन्द्र, जिल्ला, क्षेत्र र नगर स्तरीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
प्रतिक्रिया