डा. सूर्यराज आचार्य साझा पार्टीको प्रवक्तामा नियुक्त

काठमाडौं, जेठ १३ ।
साझा पार्टीप्रति संचार माध्यममा बढेको जनताको चासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्नका लागि पार्टीले डा. सूर्यराज आचार्यलाई प्रवक्ताकाे नियुक्त गरेको छ ।
भरतपुर महानगरपालिका चितवनका स्थायी निवासी उनी सार्वजनिक नीति तथा पूर्वाधार विज्ञसमेत हुन् । उनले थाइल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलाेजी (एआइटी)बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर र जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधी गरेका छन् ।
नेपाल फर्किनु अघि उनी जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्वद्ध ‘पोलिसि थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत थिए ।
उनले पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव संगालेका थिए । उनले दर्जनौँ शोधपत्रहरू प्रकाशित गरेका छन् । नेपाली राजनीतिमा गहिरो चासो राख्ने डा. आचार्य विकास र राजनीतिक विषयका लेखक तथा विश्लेषक पनि रहेका छन् ।
प्रतिक्रिया