नेपालमा पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव, बादलसँगै हल्का वर्षा र हिमपात
काठमाडाैं, पुष ७ ।
नेपालको पश्चिमी भेगमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलकाअनुसार आज आइतबारदेखि पश्चिम नेपालको विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ भने सोमबार अझै बढ्ने देखिएको उनले बताएकी छन् । र, यसको असर लुम्बिनी प्रदेशसम्म पर्ने र आंशिक असर काठमाडौंसम्म आइपुग्ने उनको भनाई छ ।
मौसमविद् कँडेलले भनिन्, ‘पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौंमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुन सक्नेछ, चिसो पनि केही बढ्ने छ ।’ प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसको सामान्य असर मात्रै पूर्व तथा मध्यतिर पर्ने जनाइएको छ ।
यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ । गएको मंसिर २९ गते काठमाडौं उपत्यकामा यो वर्षकै अत्याधिक चिसो भएको थियो । त्यस दिन काठमाडौंको तापक्रम २ डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव २ मा झरेको थियो ।
हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे छ । यसका कारण कोशी, वागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था देखिएकाे छ । बाँकी भू-भागमा मौसम सफा नै रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेकाे छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया