नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण (भिडियाेसहित)

प्रकाशित मिति: ७ पुष २०८१, आईतवार १९:२९


काठमाडाैं, पुष ७ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । आज आइतबार एक विशेष कार्यक्रमका बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, बैंकका सञ्चालक निर्वाण चौधरीलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैँ प्रतिबद्ध रहेको बताए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले नबिल बैंकले यो परियोजना अघि बढाएको बताए ।

नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा-१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा-१ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।

कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिएका छन् । उनीहरूले निजी क्षेत्रले राज्यको दायित्वमा साथ दिएर सामाजिक उत्तरदायित्व पूरा गरेको कार्य प्रशंसनीय रहेको बताए ।

वि.सं. २०८० साल कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरूप तत्काल राहत सामग्री वितरणका साथै परकम्पको त्रास, चिसो मौसमको कष्ट तथा घर-सम्पत्ति र परिवारका सदस्य गुमाउनु पर्दाको पीडासँगै त्रिपालमा बस्न बाध्य भएका भूकम्प प्रभावितहरूका लागि नबिल बैंकले राहत प्रदान गर्न अस्थायी आवास निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो ।

नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा विपद् प्रभावितहरूलाई राहत उपलब्ध गराउँदै आएको छ । बैंकले भविष्यमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू सञ्चालन गर्दै जाने पनि बैंकले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

हिउँदे वर्षा सुरु, उच्च पहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपात

काठमाडाैं, पुष ८ । हिउँदे वर्षा आज सोमबार सुरु हुने भएको छ । पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु.....