हिउँदे वर्षा सुरु, उच्च पहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपात
काठमाडाैं, पुष ८ ।
हिउँदे वर्षा आज सोमबार सुरु हुने भएको छ । पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार पश्चिमी न्यून चापीय प्रणालीका असरका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागदेखि पहाडी भू-भागमा पनि आज राति र भोलि हल्का वर्षा हुनेछ ।
उच्च पहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपात हुनेछ । गण्डकी प्रदेशका उच्च भेगमा समेत हिमपात हुने मौसमविद् अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको अधिकारीले बताए। यो प्रणालीले अन्य प्रदेशमा पनि मौसम बदली हुने तर पानी नपर्ने उनको भनाइ छ।
यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउने तर, पूर्वी नेपालसम्म नपुग्ने महाशाखाले जनाएको छ । बिहान तराई र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।
प्रतिक्रिया