वैदेशिक रोजगारको प्रलोभन देखाई ठगी गर्ने काठमाडौंबाट जोशीसहित दुई पक्राउ

काठमाडाैं, पुष १० ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोटको बिदुर नगरपालिका-३ घर भई काठमाडौंको कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशी रहेका छन् ।
पक्राउ परेलामध्ये रमेशले सर्बिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ र पुन्यवतीले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख १७ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले रमेशलाई काठमाडौं महानगरपालिका-९ बाट र पुन्यवतीलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया