छिमेकी राष्ट्र भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन
एजेन्सी, पुष ११ ।
छिमेकी राष्ट्र भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।
आज बिहीबार साँझ दिल्लीको एम्स अस्पतालमा उनको निधन भएको हो । बिहीबार साँझ नै उनलाई अस्पताल भर्ना गरिएको थियो ।
साँझ ८ बजेर ६ मिनेट जाँदा उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर, उनलाई ब्युँताउने सबै प्रयास असफल भएपछि ९ बजेर ५१ मिनेट जाँदा उनलाई मृत घोषित गरिएको एम्स अस्पतालले एक विज्ञप्ति जारी गर्दै बताएको छ ।
दुई कार्यकाल प्रधानमन्त्री रहेका सिंहलाई पदमा रहुञ्जेल जहिले पनि सोनिया गान्धीको ‘छाँया’का रूपमा चित्रित गरियो । तर, पदबाट हटेपछि भने उनलाई ‘अन्डररेटेड’ प्रधानमन्त्री भन्नेहरूको संख्या ह्वात्तै बढेको थियो ।
सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए । उनी भारतको आर्थिक सुधारका रचयिताको रूपमा मानिन्छन् । आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरे । टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलो मध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइने गरिन्थ्यो ।
सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल सो पदमा रहे । पछिल्लो पटक उनको सरकार भ्रष्टाचार काण्ड, महँगी र भयानक आतंकवादी हमलाको चपेटामा पर्यो ।
उसो त उनी प्रधानमन्त्री अपेक्षा सायदै कसैले गरेको थियो । सोनिया गान्धी प्रधानमन्त्री बन्ने आँकलनको माझ गान्धीले नै सिंहको नाम घोषणा गरेकी थिइन् । त्यसैले कतिपयले उनलाई ‘एक्सिडेन्टल प्राइममिनिस्टर’ भन्ने गरेका छन् ।
३३ वर्ष राज्य सभा सदस्य रहेका उनी कहिल्यै प्रत्यक्ष चुनिएनन् । जसका कारण अन्य नेताले जस्तो लोकप्रिय वैधताको उनलाई सधैँ अभाव रह्यो ।
त्यसमाथि लजालु स्वभाव र विस्तारै बोल्ने बानीले कमजोर नेताको छवि बन्यो । तर, गठबन्धन सरकारको नेतृत्व गरेर पनि उनले विदेशी लगानी खोल्ने र अमेरिकासँग आणविक सम्झौता गर्नेजस्ता कठिन निर्णयमा दृढता देखाए ।
१९३२ मा हाल ब्रिटिस भारतको हाल पाकिस्तानमा पर्ने पञ्जाबमा जन्मिएका उनी उर्दु माध्यमको स्कुलमा पढेका थिए । विभाजनपछि उनको परिवार राजस्थान सर्यो ।
अक्सफोर्डबाट अर्थशास्त्रमा डक्टरेट गरेर फर्केपछि उनले भारतमा प्राध्यापन र विभिन्न मन्त्रालय तथा आयोगमा रहेर काम गरे ।
सन् १९९० मा प्रधानमन्त्री चन्द्रशेखरको सल्लाहकार रहेका उनलाई पीभी नरसिंह रावले अर्थमन्त्री बनाएका थिए ।
प्रतिक्रिया