देशका केही स्थानमा वर्षा र हिमपातकाे सम्भावना
काठमाडाैं, पुष १२ ।
हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाे छ ।
जसको प्रभावस्वरूप यतिबेला आज शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली रहेकाे छ । देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरोको लागेको छ ।
आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान र गण्डकी र कोशी प्रदेशका एक/दुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहने छ ।
बिहानको समयमा देशका तराई तथा उपत्य क्षेत्रमा हुस्सु र कुहिरोको समेत सम्भावना रहेको कारण यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया