रविसहित सबै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग
काठमाडाैं, पुष १६ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत संलग्न रहेको पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा सरकारी वकिलको तर्फबाट आज मंगलबार दुई जनाले बहस गरेका छन् ।
न्यायाधीश नितिज राईको इजलासमा सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले मंगलबार बहस गरेका हुन् । शर्माको बहस मंगलबार नसकिएपछि भोलि बुधबार पनि उनले बहस गर्ने जिल्ला सरकारी वकील कार्यालय प्रमुख कमला काफ्लेले बताइन् ।
सरकारी वकीलले बहसका क्रममा सबै प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन् ।
बुधबार सरकारी वकीलकै तर्फबाट विपिनराज तिवारी, कमला काफ्लेसहित महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले बहस गर्ने भएका छन् ।
बहसका लागि रेग्मी र गौतम पोखरा पुगिसकेका छन् ।
सरकारी वकीलको बहस सकिएपछि प्रतिवादीहरूको तर्फबाट बहस हुनेछ ।
प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, रास्वपा सांसद् सोबिता गौतमलगायतले बहस गर्ने तयारी गरेका छन् ।
दुबै पक्षको बहसपछि सरकारी वकीलको तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि उनीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुना बाहिर राखेर गर्ने भन्ने आदेश हुनेछ ।
पक्राउ परेका ७ जना प्रतिवादीकै बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।
लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लिला पछाई, रामबहादुर खनाल, पूर्वसांसद् मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अभियोग पत्रका साथ उपस्थित गराइएको छ ।
विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकोमा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ ।
यस्तै, यी मध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमासमेत अभियोग पत्र दायर गरिएको छ ।
सम्पत्ति जफतका लागि रवि पत्नी निकितासहित ५ जनालाई पनि प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया