काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरुद्ध
काठमाडौं, पुष २० ।
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गतका क्षेत्रहरूमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको हो ।
साँखु फिडरअन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागलफेदी आलापोट आदि स्थानमा तथा ठिमीको बोडे फिडरअन्तर्गतको मूलपानी पिपलबोट मूलपानी चौर नेपाल टेलिकम ब्रम्हखेल नयाँपाटी बागधारा आदि स्थानमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यहाँ पेप्सी-मूलपानी सडकको कल्भर्ट निर्माणको क्रममा परेको एचटी पोल सार्नका लागि फिडर सटडाउनमा राख्नु परेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, ललितपुरमा यूएन पार्क फिडरअन्तर्गत पर्ने शंखमूल, यूएन पार्क, शंखमूल टाउन प्लानिङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यहाँ विद्युतीय तार भूमिगत कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया