तिब्बत क्षेत्रमा आएको विनाशकारी भूकम्पमा परी १२६ जनाको मृत्यु
एजेन्सी, पुष २४ ।
चीनको दुर्गम तिब्बत क्षेत्रमा मंगलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १ सय २६ जनाको मृत्यु भएको छ भने हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ । छिमेकी नेपालको राजधानी काठमाडौं र भारतका केही भागमा पनि कम्पन महशुस गरिएको थियो ।
चीनको सरकारी प्रशारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ ।
फुटेजमा देखाइएअनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए भने केहीले स्थानीयबासीहरूलाई शून्य डिग्रीभन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए ।
भूकम्प मंगलबार बिहान करिब ९ः०० बजे (०१०० जिएमटी) नेपालसँगको सीमानजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाईको तिङरी काउन्टीमा गएको थियो ।
“यहाँ घरहरू माटोबाट बनेका छन्, त्यसैले जब भूकम्प आयो… धेरै घरहरू ढले”, ३४ वर्षीय साङ्जी डाङ्झीले भने । उनको तिङरीको सुपरमार्केटमा ठूलो क्षति भयो । उनले स्थिति ‘धेरै गम्भीर’ भएको बताए । एम्बुलेन्सहरूले दिनभरी मानिसहरूलाई अस्पताल पुर्याइरहेका थिए ।
सिसिटिभीले प्रकाशित गरेको निगरानी तस्वीरहरूमा मानिसहरूलाई पसलको गल्लीहरूमार्फत् भागिरहेको देखाइएको छ भने र्याकहरू जोडले हल्लिए, खेलौना जस्ता वस्तुहरू भुइँमा खसे ।
सिसिटिभीकाअनुसार स्थानीय समयानुसार साँझ ७ बजेसम्म कम्तीमा १ सय २६ जनाको मृत्यु पुष्टि भएको र अन्य १ सय ८८ जना घाइते भएका छन् ।
गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीस हजार ६ सय ९ घर भत्किएका छन् । चाइना अर्थक्वेक नेटवर्क्स सेन्टर (सिइएनसी) ले भूकम्पको तीब्रता ६ दशमलव ८ मापन गरेको छ भने यूएस जियोलोजिकल सर्भेकाअनुसार ७ दशमलव १ रेक्टर स्केलको मापन गरिएको छ ।
प्रभावित क्षेत्र सगरमाथा शिखरको चीनियाँ तर्फको पहाडी भू-भागले घेरिएको छ । भूकम्पको केन्द्रबिन्दु तिङरी लगभग ६२ हजार जनसङ्ख्याको घर हो र यो तिब्बतको राजधानी ल्हासा जस्तो शहरी केन्द्रहरू भन्दा कम विकसित छ ।
धेरै घर ढुङ्गा, माटोको इँटा र काठको बिम जस्ता परम्परागत सामग्रीहरू प्रयोग गरेर निर्माण गरिएको देखिन्छ । आपत्कालीन कमाण्ड सेन्टरलाई उद्धृत गर्दै सिसिटिभीले यस क्षेत्रमा भूकम्प आपत्कालीन प्रतिक्रियाको स्थिति उच्च स्तरमा बढाइएको बताएको छ ।
चीनियाँ राष्ट्रपति सी जिनपिङले ‘सम्भव भएसम्म क्षति कम गर्दै, सम्पूर्ण खोज र उद्धार प्रयासहरू, प्रभावित बासिन्दाहरूको उचित पुनर्बास र जाडोयाममा उनीहरूको सुरक्षा र न्यानो सुनिश्चित गर्न’ आह्वान गरेको राज्य प्रशारणले जनाएको छ ।
चीन मौसम विज्ञान प्रशासनकाअनुसार तिङरीमा रातको तापक्रम माइनस १६ डिग्री सेल्सियस (३.२ फरेनहाइट) सम्म झर्ने अनुमान गरिएको छ ।
अधिकारीहरूले ३ हजार ४ सयभन्दा बढी उद्धारकर्ता र ३ सय ४० भन्दा बढी चिकित्साकर्मीहरू परिचालन गरिएको बताएका छन् ।
यसैबीच, काठमाडौंका साथै नेपालको सगरमाथानजिकैको उच्च पहाडी क्षेत्र लोबुचे वरपरका क्षेत्रहरू पनि भूकम्प र परकम्पले हल्लाएको थियो । “यहाँ निकै जोडले हल्लियो, सबै ब्युँझिए”, सगरमाथानजिक रहेको नाम्चे क्षेत्रका सरकारी अधिकारी जगतप्रसाद भुसालले भने ।
सुरक्षा बल परिचालन गरिएको तर, हालसम्म कुनै क्षति वा मृत्युको खबर नआएको नेपाल सरकारको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।
नेपाल एउटा प्रमुख भू-गर्भीय फल्टलाइनमा अवस्थित छ जहाँ भारतीय टेक्टोनिक प्लेट युरेसियन प्लेटमाथि धकेलिन्छ । यसले हिमालय बनाउँछ र भूकम्पहरू नियमित घटना हुन् ।
सन् २०१५ मा नेपालमा आएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा करिब ९ हजार मानिसको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।
प्रतिक्रिया