अन्ततः रास्वपा सभापति रु. ६५ लाख धराैटी बुझाएर रिहा, पुनः पक्राउकाे सम्भावना

प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार १८:३३


काठमाडाैं, पुष २५ ।
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएसँगै लामिछाने रिहा भएका छन् ।

उनलाई जिल्ला अदालत, कास्कीले आज बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

यसपछि रास्वपा नेताहरूमा खुशियाली छाएको छ । यसैबीच नेता सोबिता गौतमले फेसबुकमा लेखेकी छन्, ‘अटल, अडिग, अविचलित ।’

उनले सभापति लामिछानेसहितको तस्वीर साझेदारी गर्दै यस्तो लेखेकी हुन् । उनले रास्वपा र सभापति लामिछाने जस्तोसुकै अवस्थामा पनि अगाडि बढ्न सक्ने सङ्केत गरेकी छन् । अरू बेला पनि उनले यही बताउँदै आएकी छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको थियाे । सोही अभियोग लागेका पूर्वडीआईजी छबिलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी मागिएको छ ।

यसैबीच, काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ । त्यसकारण उनी पुनः तत्काल पक्राउ पर्न सक्ने अवस्था रहेकाे छ । तर, उनी ‘छुटी जाने भएमा प्रहरीकै जिम्मा दिनु’ भन्ने मागबमोजिम अदालतले उनलाई प्रहरीकै जिम्मा दिन लागेको हो । यसअघि, नै पक्राउ पुर्जी जारी भइसकेका जिल्लामा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सम्बन्धित जिल्लामा पठाउने छ । सभापति रविविरुद्ध काठमाडाैं, रूपन्देहीलगायत जिल्लामा पक्राउ पुर्जी जारी भइसकेको छ ।

लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकीलको कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दाबीसहित ५ पुषमा थप र ७ पुषमा पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।

जिल्ला सरकारी वकीलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धिकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७ सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछाने रिहा, आफैँ अदालतमा उपस्थित हुने

काठमाडाैं, पुष २५ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र.....