नबिल बैंकलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान
काठमाडाैं, पुष २८ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाण पत्र प्राप्त गरेको छ । यस प्रमाण पत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्ट (INTERCERT) ले प्रदान गरेको हो । यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ ।
आज आइतबार नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाण पत्र हस्तान्तरण कार्यक्रममा बैंकले ISO प्रमाण पत्र प्राप्त गरेको हो । कार्यक्रममा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नबिल बैंकले आफ्नो सुरक्षात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको पुष्टि प्रमाण पत्र प्रदान गर्ने संस्थाले गहन परीक्षण गरेर गरेको हो । नबिल बैंकले आफ्नो सुरक्षा प्रणाली, अभ्यास र नियन्त्रणको विस्तृत मूल्यांकन पछि यो मान्यता प्राप्त गरेको हो । साइबर जोखिम र चुनौतीहरू बढिरहेका बेला यस्तो प्रमाण पत्रले बैंकको सुरक्षाप्रतिको गम्भीर प्रतिबद्धता झल्काउँछ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले यो प्रमाण पत्रले डाटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको बताए । उनले भने, “हामी ग्राहकहरूको डाटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौँ । यो प्रमाण पत्रले सुरक्षात्मक उपायलाई निरन्तर सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ । यो प्रकृयालाई हामी निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गर्छाैँ ।”
ISO 27001:2022 प्रमाण पत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड हो । यो प्रमाण पत्र प्राप्त गर्नु नबिल बैंकको सुरक्षाको उच्च मापदण्ड कायम राख्न गरिएको प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकलाई थप विश्वासिलो बनाउनुका साथै बैंकको ग्राहकप्रति दायित्व झल्काएको छ ।
इन्टरसर्ट एक विश्वव्यापी सर्टिफिकेसन संस्था हो, जसले विभिन्न व्यवस्थापन प्रणालीहरूको लागि सर्टिफिकेसन सेवा प्रदान गर्दछ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २ सय ६८ वटा शाखा र ३ सय २० वटा एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ्ग विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया