गरिमा क्यापिटलको नवौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
काठमाडाैं, पुष २६ ।
गरिमा क्यापिटल लिमिटेडले यही पुष २५ गते बिहीबारका दिन काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा आफ्नो नवौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त नवौं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदनमाथि सहभागी शेयरधनीहरूले राखेका जिज्ञासाहरू अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए । सभामा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्षहरू, गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरू तथा शेयरधनी महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
नवौँ वार्षिक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिव अशोक सुवेदी तथा स्वागत मन्त्यव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए ।
नवौँ वार्षिक साधारण सभामा आर्थिक वर्ष बर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहितको २०८१ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/०८२ को लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरूमध्ये एक (१)/एक (१) सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरू नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरू सर्वसम्मतले पारित गरेको थियो ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा (Underwriting Services), लगानी व्यवस्थापन सेवा (Portfolio Management Services – PMS) तथा निक्षेप सदस्य (Depository Participant डिम्याट तथा मेरोशेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट समेत सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया