मञ्जुश्री फाइनान्सको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, पुष २८ ।
मञ्जुश्री फाइनान्स लिमिटेडको १७ औँ वार्षिक साधारण सभा आज आइतबार, थापागाउँ ब्याङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ ।
साधारण सभाबाट आ.व. २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको करसमेत) वितरण गर्ने निर्णयसमेत पारित गरेको छ । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरूको तर्फबाट तीन जना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरूको तर्फबाट एक जना सतिश गौतम गरी चार जना सञ्चालकहरू आगामी ४ वर्षका लागि निर्विराेध निर्वाचित भएका छन् ।
वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं.-१० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं.-११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्ध पत्रको दफा २ (१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पनि पारित गरिएको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेडले गत मंसिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । यस फाइनान्सको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा रही २७ वटा शाखा तथा एक बिस्तारित काउण्टरमार्फत् देशभरका प्रमुख शहरहरूमा, १ लाख २० हजारभन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउँदै आइरहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया