काठमाडौं महानगरमा विद्यासुन्दर शाक्यको जित सुनिश्चित

काठमाडौं, जेठ १४ ।
काठमाडौं महानगरपालिकाको मतगणना गर्ने कार्य करिब करिब अन्तिम चरणमा पुगेको छ । जम्मा ३२ वडामध्ये हालसम्म ३१ वटाको मतगणना सम्पन्न भइसकेको छ भने अब मात्र वडा नम्बर १६ को मात्र गणना बाँकी रहेको छ ।
प्राप्त पछिल्लो मत परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ६२ हजार एक सय २५ मत प्राप्त गरिसकेका छन् । योसँगै शाक्यको जित प्रायः सुनिश्चित भएको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका राजुराज जोशीले ४३ हजार नौ सय १० मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले २२ हजार पाँच सय ३९ मत प्राप्त गरेकी छन् । साझा पार्टीका किशोर थापाले १७ हजार आठ सय ४४ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार चार सय ६९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीको अग्रतासँगै जित सुनिश्चित प्रायः छ । उनले हालसम्ममा ५६ हजार तीन सय ९६, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार पाँच सय ३८, साझा पार्टीकी निरूपमा यादवले ११ हजार ६४ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार आठ सय तीन मत प्राप्त गरेकी छन् ।
मतगणना अन्तिम चरणमा रहेकाले आज बिहानै अन्तिम परिणाम आइसक्ने काठमाडौं महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबीच, महानगरको १४ नं. वडामा एमालेको समूह विजयी भएको छ । अन्तिम मत परिणामअनुसार अध्यक्षमा शोभा सापकोटाले तीन हजार आठ सय सात मत प्राप्त गरेकी छन् । महिला सदस्यमा रम्मी खड्काले चार हजार तीन सय १५, दलित सदस्यमा उर्मिला सेञ्चुरीले चार हजार नौ र खुलातर्फ विनोद थापाले तीन हजार आठ सय १६ र बसन्त महर्जनले तीन हजार छ सय ६३ मत प्राप्त गरेका छन् ।
३२ वटा वडामध्ये १८ वटा वडामा एमाले र १३ वटा वडामा कांग्रेसले विजयी हासिल गरेको छ ।
प्रतिक्रिया