सम्बन्ध विच्छेदकाे निवेदनलाई ठूलाे इस्यूकाे रूपमा नलिन गायिका एलिना चाैहानकाे अनुराेध

काठमाडाैं, माघ १९ ।
गायिका एलिना चौहानले सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा दिएको निवेदनलाई ठूलो इस्यूकाे रूपमा नलिनका लागि आग्रह गरेकी छन् । आज शनिबार आफ्नो आधिकारिक टिकटक ह्यान्डलमा एक भिडिओ पोस्ट गर्दै एलिनाले यस्तो आग्रह गरेकी हुन् ।
‘अदालतको कुरा बाहिर कसरी आउँछ थाहा छैन, तर यसलाई ठूलो रूपमा लिएर प्रचार गर्नेभन्दा पनि इग्नोर गर्नुहोला,’ उनले भनेकी छन् ।
उनले श्रीमान्लाई गाली नगर्नसमेत भनेकी छन् । ‘जति गाली गर्न मन छ, मलाई गर्नुहोला । तर, उहाँलाई नगर्नुहोला । सहमतिमै हामीले सम्बन्ध विच्छेद गर्ने निर्णय लिएका हौँ,’ उनले भनेकी छन्, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । सात जुनीसम्मका लागि गरिन्छ अझ हिन्दू संस्कारमा त ।’
उनले बिहेअघि सम्बन्धमा रहँदा पनि बढी नै खटपट पर्ने गरेको खुलाएकी छन् । बिहे हतारमा गरेको स्वीकार्दै उनले भनेकी छन्, ‘बिहे गर्नु हतारको डिसिजन भयो । प्रेम सम्बन्धमा हुँदा पनि बढी नै खटपट हुन्थ्यो । तर, सहन्छु भनेरै बिहे गरेँ । तर, समय बित्दै जाँदा सहन सकिनँ । उहाँले सोचेजस्तो पनि भएन ।’
उनले आफूलाई विभिन्न नम्बरहरूबाट तारान्तार फोन आइरहेकोसमेत बताएकी छन् । त्यसले आफूलाई थप टर्चर दिइरहेको भन्दै उनले फोन नगर्नसमेत अनुराेध गरेकी छन् ।
चौहानले सम्बन्ध विच्छेदका लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा एक निवेदन दिएकी छन् ।
प्रतिक्रिया