विद्यासुन्दर शाक्य भारी मतले कामपाका नयाँ मेयरमा निर्वाचित

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार ११:०२


काठमाडौं, जेठ १४ ।
काठमाडौं महानगपालिकाको मेयर पदमा २० वर्षपछि नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य भारी मतले विजयी भएका छन् ।

वि.सं. २०४९ सालको स्थानीय चुनावमा २९ वर्षको उमेरमा पहिलो पटक तत्कालीन काठमाडौं नगरपालिकाको वडाध्यक्ष बनेका थिए शाक्य । पाँच वर्षपछि २०५४ सालमा फेरी सोही पदमा दोहोरिए । २०६२–०६३ को जनआन्दोलनपछि स्थानीय निकाय सञ्चालनको लागि बनेको सर्वदलीय संयन्त्रमा एमालेको तर्फबाट लामो समयसम्म उनले प्रतिनिधित्व गरे ।

शाक्यलाई लामो समयदेखि चिन्दै आएका पब्लिक युथ क्याम्पसका सह–प्राध्यापक विजय मानन्धर काठमाडौंको कोर एरियाका लागि कुनै नौलो नाम नभएको बताउँछन् । ‘२०–२२ वर्षकै उमेरदेखि यस क्षेत्रमा परिचिति हो । युवा क्लबको अध्यक्ष विभिन्न सामाजिक काममा सक्रिए थिए । जात्रा चाड पर्वमा अग्रपङ्ती थियो,’ मानन्धरले भने, ‘लामो समयदेखि कोर क्षेत्रमा महानगरपालिकाका प्रतिनिधिको रूपमा काम गर्दै आएको हो । यस क्षेत्रमा परिचित नै हो । लगनशील मानिस हो । त्यति चर्चामा आउन नचाहने ।’

पहिले टिकटै नपाउने, पाए पनि जित्न सक्ला र भनेर शंका गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उनको जितप्रति शंका थियो । बैशाख १९ गते मनोनयन दर्ता गर्ने दिनको अबेरसम्म अध्यक्ष ओलीका लागि पूर्वमेयर केशव स्थापित नै नाममा अडान लिइरहेका थिए । पार्टीको आन्तरिक राजनीतिमा लामो समयदेखि साथ दिँदै आएका शाक्यको भने ओलीले ‘आया राम, गया राम’ को छबि बनाएका स्थापित नामको अड्डि लिनुपछिको कारण कम्तीमा सबै मतदाताले सुनेको नाम थियो ।

तिनै शाक्य देशको राजधानीको मेयर बनेका छन् । त्यो पनि राम्रो मतान्तरमा जितका साथ । मतगणना सुरु भएदेखि नै शाक्यले अधिकांश समयमा गणनास्थल राष्ट्रिय सभा गृह छाडेनन् । गणनामा खटिएका प्रतिनिधिहरूले बाहिर पठाउने गरेको मतसंख्यालाई खल्तीबाट मोबाइल निकालेर जोड्थे । कांग्रेस, विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारसँग रहेको अन्तर निकाल्थे । त्यसपछि अरूसँग भेट गर्न लाग्थे । अनि सभा गृह परिसरमा अरूसँग भेटघाट गर्दथे । त्यहाँ रहेका सञ्चारकर्मीहरूको जिज्ञासा मेट्थे । अनि सेल्फी खिच्थे । ‘विस्तारै घुलमिल बढाउँदै लगेको छु’ उनले भने, ‘अब बानी पर्न थालियो ।’

मतको परिणामहरू हेर्दा उनको अन्तर कहिले पनि कम भएको थिएन । ‘एक नम्बर वडाकै मतगणना भएपछि राम्रै मतान्तरले जितिन्छ भन्ने लागेको थियो’ शाक्यले भने । निर्वाचन आयोगले सार्वजनिक गरेको घोषणामा उनी एक पटक बाहेक कहिले पनि पछि परेनन् । ‘त्यस समयमा पनि एक गणकले कांग्रेसका प्यानल भोट मात्रै जोडेर भन्दा त्यस्तो भएको थियो’ शाक्यले भने, ‘गणनामा कहिले पनि पछि परिन ।’ ३२ वडा रहेको काठमाडौं महानगरपालिकामा उनले १८ हजारभन्दा बढी मतले जित हासिल गरेका छन् । आफ्नो वडामा उनले खसेको कूल मतको करिब ८५ प्रतिशत मत ल्याएका छन् ।

विद्यासुन्दर शाक्य काठमाडौंकै लगनटोलमा २०२० जेठ ९ गते जन्मिएका शाक्यले त्रिपुरेश्वरको विश्व निकेतन माध्यामिक विद्यालयबाट माध्यमिक तहको पढाई पूरा गरे । शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका शाक्य विद्यालय तहदेखि नै राजनीतिमा संलग्न रहेका थिए । २०३६ सालको जनमत संग्रहले राजनीतिमा चाख बढाए पनि दोश्रो जनआन्दोलनको समयमा त्यो संलग्नता निकै बढ्यो । ‘एकातिर चार तारे झण्डा र अर्कोमा हँसिया हथौडा लिएर जुलुसमा जान्थ्यौं,’ २०४६ सालको जनआन्दोलन सम्झिँदै उनले भने ।

आन्दोलनमा पछि तत्कालीन नेकपा मालेको गठन गरेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ नेपाल)को काठमाडौं जिल्लाको कोषाध्यक्ष बने । त्यस समयमा संघको केन्द्रीय अध्यक्ष केपी शर्मा ओली थिए ।

लाइम लाइटको उम्मेदवार नभए पनि शाक्यको जितका लागि धेरै विषयको गठजोड मिलेको छ । ‘भित्र शहरमा उनको परिचय इमान्दार नेताहरूको रहेको छ’ उप प्रध्यापक मानन्धरले भने । अन्य स्थानमा एमालेले नाकाबन्दीको सयममा लिएको अडान जितका लागि आधार बन्यो ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....