अन्ततः भाबुक स्ट्याटस लेख्दै गायिका एलिना चौहानले पतिसँग गरे पारपाचुके
![](https://liveofnepal.net/wp-content/uploads/2025/02/Screenshot_2025-02-11-16-43-23-24.jpg)
काठमाडाैं, माघ २९ ।
अन्ततः गायिका एलिना चौहानले पति बिष्णु सापकोटासँग पारपाचुके गरेकी छन् ।
एलिनाले गत बैशाखमा बागलुङ निवासी बिष्णु सापकोटासँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको ९ महिना नबित्दै उनले पारपाचुकेको मुद्दा दायर गरेकी थिइन् ।
सो मुद्दाको आज मंगलबार जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।
बिष्णु सापकोटासँगको पारपाचुकेपछि एलिनाले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक स्ट्याटससमेत लेखेकी छन् ।
उनले उक्त स्ट्याटसमा पति बिष्णुलाई ‘प्रिय बिष्णु’ भनेर सम्बोधन गरेकी छन् ।
उनले विवाह गर्दा लिएको ७ फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता सबै उस्तै रहेको बताएकी छन् । उनले शारीरिक मिलन मात्रै विवाह नहुने रहेछ भन्दै भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको उल्लेख गरेकी छन् ।
उनले आफ्नो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको भन्दै आजदेखि स्वतन्त्र भएर कानूनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी छन् ।
उनले पत्नीका रूपमा अधिकारले पाउने सम्पत्ति सबै बिष्णु सापकोटालाई नै प्रगति र उन्नतिका लागि छोडेको बताएकी छन् ।
अन्त्यमा, उनले बिष्णुलाई बाँकी जीवनको लागि शुभकामनासमेत दिएकी छन् ।
एलिना चौहानको भावुक स्ट्याटस :
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् ।
तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् ।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाण पत्र अझै उस्तै नयाँ छ ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होइन । जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ ।
आजदेखि स्वतन्त्र भएर कानूनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।
पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु ।
तिमीलाई बाँकी जीवनको धेरै-धेरै शुभकामना बिष्णु । (माघ २९)
प्रतिक्रिया