कुम्भ मेलाबाट फर्किँदै गरेका चार नेपाली तीर्थयात्रीकाे, ६ जना घाइते

एजेन्सी, फागुन १० ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाबाट घर फर्किएका चार जना नेपाली तीर्थयात्रीकाे सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गएराति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका-७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर-५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजु सुनसरीको कुशहा गाउँपालिका-१ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरूप नगरपालिका-७ का वडाध्यक्ष समानन्द चौधरीले बताए ।
सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरूप नगरपालिका-१ स्थित लक्ष्मीनारायण माधयामिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर-७ कै लालुदेवी यादव, वडा नम्बर-५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनी ज्वाईं र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।
तीन जना मृतकका छोरा शव लिन तीन वटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ आज शनिबार प्रस्थान गरेका वडा अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
प्रतिक्रिया