नेपालमा एकैदिन भूकम्पका तीन धक्का, उपत्यकामा मात्र १० दिनमा दुई धक्का महशुस

काठमाडाैं, फागुन २४ ।
नेपालमा आज शनिबार एकदिनमा नै तीन वटा भूकम्पका धक्का महशुस गरिएकाे छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचाैरकाअनुसार आज बिहान ३ बजेर १४ मिनेटकाे समयमा म्याग्दीको धौलागिरी गाउँपालिका-४ मुदी केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलकाे भूकम्प गएकाे छ भने त्यसको ठीक ३ घण्टापछि बिहानै ६ बजेर २० मिनेटमा बागलुङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलकाे भूकम्प गएका हुन् ।
यसैबीच, आजै दिउँसो २ बजेर ३५ मिनेटकाे समयमा तिब्बतलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलकाे भूकम्प जाँदा काठमाडौं उपत्यकासम्म धक्काकाे महशुस गरिएको थियाे । यसका साथै पूर्वी जिल्लामासमेत उक्त भूकम्पकाे धक्का महशुस गरिएको थियाे ।
‘आज एकदिनमा नै नेपालमा भूकम्पका ती वटा धक्का महशुस गरिएका छन्’, भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भने, ‘बिहान म्याग्दी र बागलुङमा दिउँसो तिब्बतको भूकम्पले काठमाडौंमासम्म धक्का महशुस गरिएकाे छ ।’
त्यसैगरी, आजको समेत गर्दा काठमाडौं उपत्यकामा मात्र गएकाे १० दिनभित्रमा भूकम्पका दुई वटा धक्का गएका छन् ।
यसअघि, फागुन १५ गते राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलकाे भूकम्प जाँदा पनि काठमाडौं नराम्राेसँग हल्लिएको थियाे ।
प्रतिक्रिया