चैत ७ बाट काठमाडौंमा १७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता हुँदै

काठमाडौं, चैत ४ ।
नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ गतदेखि काठमाडौंमा १७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
नेपाल व्यायाम मन्दिरले आज सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै १७ औँ धर्मश्री तथा पूर्वमेयर पीएल सिंह शारीरिक सुगठन प्रतियोगिता चैत ७ गतेदेखि ९ गतेसम्म हुने जानकारी गराएका हुन् ।
सो प्रतियोगिताअन्तर्गत चैत ७ गते वेइङ, चैत ८ र ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए । पुरुष बडि बिल्डिङको रूपमा रहेको धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कूल ६ तौल समूहमा प्रतिस्पर्धा हुने उनले बताए ।
धर्मश्रीसँगै पुरुष एथ्लेटिक फिजिक ओभर र पुरुष एथ्लेटिक्स फिजिक अन्डर, महिला बडि बिल्डिङ र ५० वर्षभन्दा माथिका खुला मास्टर विधामा प्रतिस्पर्धा हुने अध्यक्ष प्रधानले जानकारी दिए । धर्मश्री बिजेताले १२ लाख दोश्रो हुनेले ६ लाख तथा तेश्रो हुनेले ३ लाख नगद प्राप्त गर्ने वरिष्ठ उपाध्यक्ष अजय बज्राचार्यले जानकारी दिए ।
त्यस्तै, पुरुष फिजिक ओभर र अन्डर तथा महिला बडि बिल्डिङको बिजेताले समान २ लाख र उपबिजेताले समान १ लाख र तेश्रो हुनेले ७० हजार नगद प्राप्त गर्ने बज्राचार्यले बताए । ५० वर्षभन्दा माथिका खुला मास्टर बिजेताले नगद १ लाख पाउने छन् भने दोश्रो हुनेले ५० हजार, तेश्रो स्थान हासिल गर्नेले ३० हजार नगद पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको कूल अनुमानित लागत रु. १ करोड रुपैयाँको रहेको नेपाल व्यायाम मन्दिरले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् ।
प्रतिक्रिया