सिन्धु विकास बैंकको १४ र १५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, चैत १० ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक सिन्धु बिकास बैंक लिमिटेडको १४ औँ र १५ औँ वार्षिक साधारण सभा गत शुक्रबार सम्पन्न भएको छ । चैत ८ गते शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलको मिराबल होटल एण्ड रिसोर्टमा सम्पन्न बैंकको साधारण सभाले आर्थिक वर्ष २०७९/०८० र आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ । गत आर्थिक वर्षमा विविध कारणले साधारण सभा गर्न नसकेको बैंकले दुई वर्षको वार्षिक साधारण सभा एकै साथ सम्पन्न गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति गरेको छ भने स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्कीको नियुक्तिलाई पनि अनुमोदन गरेको छ ।
साधारण सभाको विशेष प्रस्तावअन्तर्गत नेपाल राष्ट्र बैंकले क्षेत्रीयस्तरको बिकास बैंकको लागि तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब बीस करोड हुनुपर्ने व्यवस्थाबमोजिम बैंकको हाल कायम रहेको चुक्ता पूँजीको ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । नेपाल राष्ट्र« बैंकलगायत अन्य नियमनकारी निकायहरूले स्वीकृति प्रदान गरेपश्चात् मात्र उक्त हकप्रद शेयर जारी गरिने गरी उक्त प्रस्ताव स्वीकृत गरेको हो । साथै उक्त साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धी कार्य गर्न सक्ने गरी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । सिन्धु बिकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, मकवानपुर र चितवन गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको बिकास बैंकसमेत हो । बैंकले हाल २६ वटा शाखा कार्यालयमार्फत् आफ्नो सेवा दिइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया