एसइईमा अनियमितता आरोपमा दुई जना नियन्त्रणमा, दुई निरीक्षक कारबाहीमा

काठमाडाैं, चैत १२ ।
एसइईको आज मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
परीक्षा भइरहेको बेला बाहिरबाट चिट बोकेर केन्द्रमा प्रवेश गरेको आरोपमा समसी-५ पोखरभिन्डाका ४५ वर्षीय विनित झालाई खखना केन्द्रबाट तथा बलवा-१ बञ्चौरीका २२ वर्षीय रोहित साहलाई धमौरा केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका झालाई ईलाका प्रहरी कार्यालय गौशाला तथा साहलाई ईलाका प्रहरी लोहरपट्टीले सोधपुछ गरिरहेको जिल्ला प्रहरीका डीएसपी एवं सूचना अधिकारी सन्तुलाल जयसवारले बताए ।
अनुगमन टोलीले निगौल केन्द्रबाट परीक्षार्थीको साथबाट एक थान मोवाइल बरामद गरेको उनको भनाई छ । त्यस्तै, परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा दुई जना निरीक्षकमाथि कारबाही गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने नेतृत्वको परीक्षा अनुगमन टोलीले जनता मावि कोल्हुवा केन्द्रका निरीक्षक सीतेन्द्रराज शरणमाथि कारबाही गरेको हो ।
अनुगमनका क्रममा शरणले अमर्यादित कार्य गरेको भेटिएपछि परीक्षा अवधिभरका लागि निष्काशन गरिएको न्यौपानेले बताए ।
लगत्तै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रेविका अमात्यको नेतृत्वमा रहेको अनुगमन टोलीले रामदेव जनता मावि भमरपुराका निरीक्षक रानाकुमार यादवलाई पनि परीक्षा अवधिभरको लागि निष्काशन गरेको छ ।
प्रतिक्रिया