देशभरका शिक्षकहरूलाई सर्कुलर जारी, उत्तर पुस्तिका चेक नगर्न आग्रह

काठमाडाैं, चैत १३ ।
नेपाल शिक्षक महासङ्घले आन्दोलनको लागि तयारी अवस्थामा रहन देशभरका शिक्षकहरूलाई सर्कुलर जारी गरेको छ । चैत २० गतेदेखि काठमाडौंमा हुन लागेको सडक आन्दोलनका लागि तयारी अवस्थामा बस्न सर्कुलरसमेर जारी गरेको हो ।
चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गर्ने महासङ्घको तयारी रहेको छ । त्यसका लागि शिक्षक कर्मचारीहरूलाई सात बुँदे सर्कुलर जारी गरेको छ । आन्दोलन अवधिभर एसइईलगायतका कुनै पनि परीक्षाका उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण नगर्नु तथा नगराउन भनेको छ ।
त्यस्तै, शिक्षा मन्त्रालयलगायतका निकायले आयोजना गर्ने कार्यक्रमहरूमा समेत सहभागी नहुन भनेको छ । त्यस्तैगरी, चैत २० गतेदेखि हुने आन्दोलनमा अनिवार्य रूपमा काठमाडौं आउन चार लाख शिक्षक तथा कर्मचारीहरूलाई निर्देशन जारी गरेको हो ।
त्यस्तै, हरेक जिल्लाले सबै शिक्षक-कर्मचारीबाट आन्दोलन परिचालन शुल्क १०० रुपैयाँ प्राप्त गरी त्यसबाट ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ ।
हरेक जिल्लाले २०८० सालको वार्षिक सदस्यता शुल्क प्रति शिक्षक २५० रुपैयाँ प्राप्त गरी प्रति सदस्य ५० रुपैयाँ केन्द्रको खातामा पठाउनसमेत सर्कुलर जारी गरेको छ ।
शिक्षक, विद्यार्थी र विद्यालयमैत्री विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै महासङ्घले आन्दोलन गर्दै आएको छ । सरकारले भने ऐन बन्ने प्रक्रियामा रहेकाले आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । तर, महासङ्घले भने ऐन जारी नहुँदासम्म घर नफर्किने अडानदमेत लिइसकेको अवस्था छ ।
प्रतिक्रिया