काठमाडौं केन्द्रित आन्दोलन : मौलिक सभ्यता, पहिचान र जात्रामा खलल !

प्रकाशित मिति: १३ चैत्र २०८१, बिहीबार २०:२४


– दि. दि. शि. यल ।
देश अहिले विभिन्न राजनीतिक दल, राजावादी र अन्य पार्टी निकट कार्यकर्ताहरूको घोषित आन्दोलनको चर्चाले काठमाडौं उपत्यका मात्र नभई मुलुक नै तातिएको छ । विभिन्न सञ्चार माध्यममा आएका विभिन्न प्रतिक्रिया, सन्देश र सहभागिताको आव्हानलगायत विभिन्न धारणाले अर्को माहौलसमेत श्रृजना भएका छन् । साँच्चिकै के अबको यो आन्दोलन थप चर्किँदै नै जाने हो र ? निहीत व्यक्तिगत स्वार्थ, राजनीतिक दाउपेचकै लागि देशको पहिचाननै धुल्मल्याउने कार्य हुन लागेको हो र ? आन्दोलन होस् वा नारा जुलुस होस्, अहिलेको परिवेशमा सबैलाई गर्न कुनै रोक छैन । निर्वाध रूपमा गर्ने अधिकार छ । सबैले आफ्नो धारणा, आफ्ना मागहरू निहीत रूपमा राख्न र पोख्न पाईन्छ तर, सबैको एउटै विकल्प भनेको व्यापक आन्दोलनको घोषणा नै हो र ? सामाजिक सञ्जाल खोल्यो भने, अब निर्णायक आन्दोलन हुँदैछ, देशको मुहार फेरिँदै छ । देशमा राजतन्त्र फर्किँदै छ यी नानाथरी कुराहरूले कसलाई असर गरिरहेको छ । सम्बन्धित निकायले यसमा कुनै ध्यान दिएको पाएको छैन ।

अहिले बोर्ड लेभल एक्जाम (बीएलई), एसइई र सबै विद्यालयको अन्तिम परीक्षा चलिरहेको छ । यसमा कसैको किन ध्यान गएको छैन ? विद्यार्थीहरूको मानसपटलमा यसले के असर गर्छ ? उसको भविष्यको इच्छा र आकांक्षामा कस्तो धक्का पार्छ ? विद्यार्थीहरूले जुन लक्ष्य प्राप्तिको लागि जुन १० वर्ष लगाएर पढिरहेका छन् । उसको जुन लक्ष्यमा पुग्ने योजना छ त्यसलाई कस्तो असर पार्छ ? कस्तो अन्यौलता श्रृजना गर्छ ? कसैले खासै ध्यान दिएको पाएको छैन ।

यति मात्र नभई, नेपालको मौलिक सभ्यता, जात्रा, पर्व, पुर्खौंदेखि चलिआएको परम्परा र देशको चिनारीको रूपमा रहेको हरेक वर्ष मनाईने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा, मध्यपुर थिमिमा मनाइने प्रसिद्ध सिन्दुर जात्रा, काठमाडौंको सेतो मच्छिन्द्रनाथको रथ जात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको रथ जात्रालगायत अन्य जात्रामा यो आन्दोलनको संघारले कस्तो असर पार्दछ भन्ने कुरामा कसैले ध्यान दियो कि दिएन ? काठमाडौंको नेवारहरूले राजालाई समर्थन नगर्ने भनेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएका छन् । यसको मतलब के काठमाडौंका रैथाने नेवारहरूले विभिन्न राजनीतिक दलहरूलाई साथ दिने भन्न खोजेको हो वा हामी स्वतन्त्र छौँ हामी कसैको लहलहैमा लागेर हाम्रो जातीय परम्परा, सभ्यता र संस्कार बिर्सन र यसलाई जोगाउन हामी आफ्नो तर्फबाट यसमा ध्यान केन्द्रित गर्छु भन्न खोजेको हो । अहिले कुनै पनि सम्बन्धित निकायले यो कुरा स्पष्ट पारेको छैन । जसका कारण विभिन्न जातीय खलक, समाज र गुठीहरूले आफ्नो धारणाहरू सार्वजनिक गरेको छैन । यसले आम नेवार समुदायहरू पनि खोला वारी र खोला पारी भने जस्तै बीचमा परेका छन् । यसको जवाफ पनि नेवार समुदायका विभिन्न सम्बन्धित निकायहरूले समयमा दिएर सबैलाई सचेत गराउन अत्यावश्यक देखिएको छ ।

अहिलेसम्म चुप लागेर बस्नु भनेको भोलिको आन्दोलन हेरौँ, त्यसपछि श्रृजना हुने वातावरण कस्तो हुन्छ, त्यसपछि मात्र सार्वजनिक धारणा व्यक्त गर्ने तरखरमा पो छैनन् भन्ने भान महशुस गर्न सबैलाई बाध्य बनाएको अवस्था रहेको छ ।

र, अर्कोतर्फ दैनिक गुजारा गरेर आफ्नो जीविका निर्वाह गरेर दिनको एकछाक टार्न सडकका गल्ली-गल्ली चाहारेर घोक्रो सुक्ने गरी कराइ-कराई आफ्नो दुई चार पैसा जोहो गर्न सामान बिकाएर थोरै नाफा खाएर बाँच्न बाध्य भएका ती दैनिक मजदुरी ज्याला गरेर आफ्नो र परिवारको हात मुख जोड्न घाम पानी, वर्षाको कुनै ख्याल नगरी बिहानीको मिर्मिरेमा उठेर जाने ती अभिभावकको अनुहारलाई हेर्नुस् । भोलि कदम कदाचित आन्दोलनले उग्र रूप लिएको खण्डमा वा कर्फ्यु वा निषेधाज्ञा क्षेत्र ठाउँ-ठाउँमा तोकिएको खण्डमा ती मजदुरका नालाबाला भनाउँदा बालबालिका, श्रीमती, घरमा आमा बाबा आउनु हुन्छ खानेकुरा ल्याइदिनु हुन्छ भनेर ढोकामा कुरेर बाटामा आँखा बिछ्याएर बस्ने ती नानीहरूको मलिनो अनुहारलाई चियाएर हेर्नुस् । के उनीहरूको जीवन उकास्नको लागि यो आन्दोलनको आवश्यकता परेको हो ? मानौँ आन्दोलन जुनसुकै पक्षले गरुन् सफल भयो रे । अब के दैनिक मजदुर ज्याला गरेर बस्ने कामदारहरूको जीवन शैली फेरिने हो ? गरिबीको रेखामुनि रहेका सबै नेपालीहरूको घरमा धन सम्पत्तिको कुनै कमी नै नहुने भयो ? बिरामी हुँदा उपचार नपाएर पैसा तिर्न नसकेर, पैसै नभएर बच्चाहरूलाई पढाउन नसकेर ईट्टाभट्टामा काम गर्न लगाएर एकछाक खानको लागि बालअधिकार हनन् हुने गरी आफ्नो नैसर्गिक अधिकारको पतन हुने गरी भोको पेट पाल्न बाध्य भएका ती दिनदुखियाहरूको जीवनमा परिवर्तन हुने पक्का भएको हो ? यी सबै समाधानको लागि यदि कोही कसैले बिना स्वार्थ आन्दोलन गर्छ भने कसैले मासु भात खुवाएर, रु. १०००/-  को नोट देखाएर गाडीका–गाडी स्कूले विद्यार्थीहरू ओसार्नुको यहाँ कुनै औचित्य छैन । कार्यकर्ताहरू भेला गराएर १,००० जना जम्मा गराएर ५० औँ हजार जना हाम्रा कार्यकर्ता भेला भएका छन् भनेर ध्वाँङ्ग फुक्नुको कुनै तुक छैन । त्यसैले सबैलाई आ-आफ्नो गुनासा, दुःखेसो, धारणा सबै राख्न यहाँ जायज छ तर, त्यसले कसैलाई के-कतिको असर परिरहेको छ भन्ने कुरामा हेक्का राखेर सम्बन्धित सबै आन्दोलित व्यक्ति, पार्टी, कार्यकर्तालगायतले यस कुरामा आफ्नो दिमागलाई ध्यानाकृष्ट गरेर निःस्वार्थ रूपमा अगाडि बढेर कसैको व्यक्तिगत जीवनमा कुनै धक्का नलाग्ने गरी गर्नुस् । कसैले केही भन्नेवाला छैन र सबैजना आ-आफ्नो गृहकार्य, कर्मथलोसम्म पुगेर निर्वाध रूपमा आफ्नो घर, स्कूले विद्यार्थीलगायत निर्वाध रूपमा बिहान आमा बुबाको मुख हेरेर हाँसी हाँसी बाइबाई भनेर स्कूल गएका विद्यार्थी, काममा गएका छोरा-छोरीहरू साँझ फर्किँदा पनि आमा बुबाले त्यही अनुहार हेर्न पाउने अधिकारलाई कुण्ठित हुने गरी बाँच्न बाध्य गराउने वातावरणको श्रृजना गर्ने र उसको अधिकारलाई कुण्ठित पारेर खुसीको आँशुलाई दुःखमा परिणत गर्ने चेष्टा कसैले नगरोस् । र, सरकारले पनि यस कुरालाई मेराे छाेरा-छाेरी, मेराे दाजुभाई र मेराे आमाबुबा भनेर सम्झेर मात्र कदम चाल्नु अत्यावश्यक छ । माथिकाे आदेश भन्दैमा दाजुभाई र परिवारले भलै बिर्सन सकिन्छ ध्यान रहाेस् । यही शुभकामना छ सम्बन्धित सबै निकायहरूमा ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....