गृह मन्त्रालयद्वारा राप्रपाको प्रदर्शनलाई लिएर गम्भीर ध्यानाकर्षण

काठमाडाैं, बैशाख ६ ।
गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनीसमेत दिएको छ ।
साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आइतबार काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया