आवासीय चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार १९:४४


काठमाडौं, बैशाख २० ।
आवासीय चिकित्सक र सरकारबीच भएको सहमतिपछि जारी आन्दोलन स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच आज शनिबार काठमाडौंमा भएको छलफलपछि तीन बुँदे सहमति भएको हो ।

छलफलपछि भएको सहमतिअनुसार, पहिलो, चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले गरेका निर्णयहरू कार्यान्वयन गरिनेछ । दोश्रो, म्याचिङ प्रक्रिया भोगिरहेका चिकित्सकहरूका लागि प्रक्रिया यथाशीघ्र सुरु गर्न आयोगलाई निर्देशन दिनेछ । तेश्रो, सुत्केरी बिदा, बिरामी बिदा र ड्युटी आवरजस्ता विषयमा कार्यदल गठन गरेर मन्त्रालयले गर्न सक्ने काम तुरुन्त गर्नेछ भने नसक्ने विषय आयोग वा सम्बन्धित निकायमा सिफारिस गरिनेछ ।

स्वास्थ्यमन्त्री पौडेलले पत्रकारहरूसँग कुरा गर्दै आवासीय चिकित्सकहरूको जायज माग पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले भने, ‘नेपाल चिकित्सक सङ्घको नेतृत्वमा भएको आन्दोलनबारे पटक-पटक छलफल भयो । सहमतिका बुँदाहरू कार्यान्वयन गर्ने स्पष्ट प्रतिबद्धता स्वास्थ्य मन्त्रालयले गरेको छ । आन्दोलनको कार्यक्रम फिर्ता लिइएको छ र हामी सहमतिलाई इमानदारीपूर्वक लागू गर्नेछौँ ।’

उनकाअनुसार चिकित्सा शिक्षा आयोगको निर्णय समयमै कार्यान्वयन नहुनु आन्दोलनको मुख्य विषय थियो । अब आयोगअन्तर्गतका कलेजहरूले क्रमशः निर्णय कार्यान्वयन गर्न थालिसकेको उनले जानकारी दिए । कतिपय कलेजमा आवासीय चिकित्सकहरू ड्युटीमा फर्किसकेका छन् भने बाँकीमा पनि सहज वातावरण बनाउने मन्त्रालयको योजना छ ।

आवासीय चिकित्सकहरूले आफूहरूले आठौँ तह सरहको निर्वाह भत्ता पाउनुपर्ने, सुत्केरी र बिरामी बिदा सुनिश्चित हुनुपर्ने र ड्युटी आवरको व्यवस्था स्पष्ट हुनुपर्ने माग राखेका थिए । आन्दोलनपछि निजी मेडिकल कलेजहरूले पनि आठौँ तह बराबरको भत्ता दिन प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

देशमा पश्चिमी वायु तथा स्थानीय वायुकाे प्रभाव, बिहानैदेखि देशभर वर्षा जारी

काठमाडाैं, बैशाख २१ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै.....

कक्षा १२ काे परीक्षा आजबाट सुरु

काठमाडाैं, बैशाख २१ । राष्ट्रिय.....

आवासीय चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं, बैशाख २० । आवासीय चिकित्सक.....