आज गणतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, जेठ १५ ।
आज गणतन्त्र दिवस–२०७४ देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइँदै आएको छ ।
करिब अढाई सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाई गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । लामो समयसम्म जरा गाडेर बसेका राजतन्त्रलाई बिदाई गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रूपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रूपमा लिएको छ ।
गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोश्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ । वि.सं. २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ । गणतन्त्र दिवस मनाइरहँदा नयाँ संविधानअनुसार स्थानीय तहको दोश्रो चरणको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ ।
जेठ ३१ गते तोकिएको दोश्रो चरणको स्थानीय तह निर्वाचन प्रदेश नं. १, २, ५ र ७ मा हुनेछ । पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा गत बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा देखिएको जनताको उत्साह एवं सहभागितालाई हेर्दा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत बन्दै गएको बुझ्न सकिन्छ । वि.सं. २०७४ साल माघ ७ गतेसम्म संघीय र प्रदेश संसद्को निर्वाचन पनि गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।
यसपछि गणतन्त्र संस्थागत भई संविधानसभाले बनाएको संविधान कार्यान्वयन हुनेछ । संविधानसभामार्फत संविधान बनाउने नेपाली जनताको सात दशक लामो चाहनाले संविधान कार्यान्वयनसँगै पूर्णता पाउनेछ ।
प्रतिक्रिया