देशभर आंशिक बदली, केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, जेठ ६ ।
अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, वागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया