काठमाडाैंकाे साेह्रखुट्टेस्थित सहकारीबाट लिएकाे ऋण नतिरेपछि एमाले नेता पक्राउ
काठमाडाैं, जेठ ८ ।
काठमाडाैं महानगरपालिकाकाे सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारीबाट ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।
दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो ।
ऋण नतिरेर अटेर गरेपछि सहकारीले दायर गरेको मुद्दाको आधारमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने फैसला गरेको थियो ।
अदालतको फैसलापछि पनि संस्थाले अर्याललाई पटक-पटक रकम भुक्तानी गर्न वा एकमुष्ठ भुक्तानी गर्न नसके ब्याज रकम तिरी नबिकरण गर्न आग्रहसमेत गरेको थियो । संस्थाले पटक-पटक आग्रह गर्दा पनि अर्यालले अटेर गरेपछि बाध्य भएर अदालतको फैसला कार्यान्वय गराउन पर्ने अवस्थामा पुगेको संस्थाका सचिव प्रल्हाद लोहनीले बताएका छन् ।
अर्याललाई आवश्यक अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ ।
नेकपा एमाले पेशागत विशेष प्रदेश कमिटीका सदस्य रहेका अर्याल एमाले पर्यटन विभाग सदस्यसमेत हुन् । उनी एमालेबाटै पर्यटन बोर्डको सदस्यसमेत भएका थिए ।
अर्याल हाल नेकपा एमाले उद्योग तथा व्यावसायी विशेष जिल्ला कमिटीका इञ्चार्जसमेत रहेका छन् ।
प्रतिक्रिया