हनी ट्रयापमा पारेर पैसा असुल्ने श्रेष्ठ र तामाङ काठमाडौंबाट पक्राउ

प्रकाशित मिति: ९ जेष्ठ २०८२, बिहीबार १८:४२


काठमाडाैं, जेठ ८ ।
हनी ट्रयापमा पारेर पैसा असुलेको आरोपमा नेपाल प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौं महानगरपालिका-५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका-१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् ।

उनीहरूमाथि हनी ट्रयाप गरेर ५ लाख रुपैयाँ असुलेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यकाअनुसार दुई जनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् पीडितसँग सम्पर्क बढाएका थिए ।

त्यसपछि पीडितलाई ठमेलस्थित होटलमा बोलाएर खाजा र मादक पदार्थ सेवन गर्न लगाएका थिए । पीडित अचेत अवस्थामा पुगेपछि उनको अश्लील फोटो र भिडियोसमेत बनाइएका थिए । प्रहरी उपरीक्षक आचार्यकाअनुसार तामाङ र चौगुठीले ती भिडियो र फोटोको स्क्रिनसट मेसेन्जरमा पठाएर ‘काठमाडौंमा घर र ४ आना जग्गा दिनुपर्छ नत्र यौन शोषणको मुद्दा लगाइदिन्छु’ भन्दै धम्कीसमेत दिएका थिए । उनीहरूले पीडितलाई तत्काल ५ लाख रुपैयाँको चेक काट्न बाध्यसमेत पारे ।

प्रहरीले उनीहरूलाई बुधबार काठमाडौं महानगरपालिका-११ हनुमानस्थानबाट पक्राउ गर्न सफल भएको थियो । उनीहरूको साथबाट मोबाइल २ थान र प्राइम कमर्सियल बैंकको आँचल चौगुठीको नाममा काटेको ५ लाखको चेक एक थानसमेत बरामद गरिएको छ ।

प्रहरी उपरीक्षक आचार्यले उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....