सुमात्रामा ५.७ रेक्टर स्केलको भूकम्प, सयभन्दा बढी घर क्षतिग्रस्त

एजेन्सी, जेठ ९ ।
शुक्रबार इन्डोनेसियाको सुमात्रा टापुनजिकै ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट एक सयभन्दा बढी घर क्षतिग्रस्त भएको र कुनै हताहत भए/नभएको खबर छैन ।
यूएसजीएसकाअनुसार भूकम्प स्थानीय समय बिहान ०२ः५२ बजे ६८ किलोमिटरको गहिराइमा बेङ्कुलु प्रान्तनजिकै अफशोरमा गएको थियो ।
देशको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रबिन्दु ८४ किलोमिटर गहिराइमा रहेको र यसको परिमाण ६.० रहेको बताएको छ । एजेन्सीले सुनामीको सम्भावना नभएको बताएको छ ।
भूकम्पले प्रान्तीय राजधानी बेङ्कुलु शहरमा एक सयभन्दा बढी घर र कम्तीमा छ वटा सार्वजनिक सुविधा क्षतिग्रस्त भएको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले शुक्रबार पत्रकार सम्मेलनमा बताए ।
“बेङ्कुलु सहरमा भूकम्पबाट एक सय ४० घर प्रभावित भए । तीमध्ये आठ ध्वस्त भए, अर्थात् तिनीहरूको मर्मत गर्न सकिँदैन”, अब्दुलले भने ।
सेन्ट्रल बेङ्कुलु जिल्लामा भूकम्पका कारण दुई वटा घरमा हल्का क्षति पुगेको उनले बताए ।
उनकाअनुसार शुक्रबार बिहानसम्म भूकम्पबाट कुनै हताहतको खबर छैन । विशाल द्वीप समूह इन्डोनेसियाले प्रशान्त ‘रिङ अफ फायर’ मा यसको स्थितिका कारण बारम्बार भूकम्पको अनुभव गर्दछ । जापानबाट दक्षिणपूर्व एशिया र प्रशान्त बेसिनमा फैलिएको रिङ अफ फायरमा टेक्टोनिक प्लेटहरू घर्षण हुँदा तीब्र भूकम्पीय गतिविधि हुन्छ ।
सन् २०२१ जनवरीमा सुलावेसीमा गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पले एक सयभन्दा बढीको ज्यान लिएको थियो भने हजारौँ घरबारविहीन भएका थिए ।
सन् २०१८ मा सुलावेसीको पालूमा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार दुई सयभन्दा बढीको ज्यान गएको थियो ।
सन् २००४ मा इन्डोनेसियाको आचे प्रान्तमा ९ दशमलव १ रेक्टर स्केलको भूकम्प जाँदा एक लाख लाख ७० हजारभन्दा बढीको ज्यान गएको थियो ।
प्रतिक्रिया