वागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा वर्षा

काठमाडाैं, जेठ ११ ।
अहिले देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कर्णाली, लुम्बिनी, वागमती र कोशी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज आइतबार दिउँसो कोशी, मधेश र वागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।
कोशी र वागमती प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
आज राति कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी र वागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया