संसद्की कर्मचारी रोशनी शाही मृत्यु प्रकरण : २ पेजको सुसाइट नोट फेला

प्रकाशित मिति: १३ जेष्ठ २०८२, सोमबार १४:२३


काठमाडौं, जेठ १२ ।
पाँच वर्ष पहिले एउटा मुद्दाबाट चर्चामा आएकी संसद्की कर्मचारीसमेत रहेकी रोशनी शाही आइतबार कोठामा मृत फेला परिन् । जाजरकोट स्थायी घर भएकी शाही भक्तपुरमा श्रीमानसँगै डेरामा बस्दै आएकी थिइन् ।

तर, श्रीमान् चित्रजंग शाही कार्यालयको कामले विराटनगर पुगेको अवस्थामा शाही मृत फेला परेकी हुन् । बन्द कोठाभित्र मृत फेला परेकी रोशनीको मृत्युको कारण भने खुल्न बाँकी नै रहेको छ ।

कोठाभित्र घोप्टो परेको अवस्थामा भेटिएकी उनले विष सेवन गरेको प्रमाण पनि प्रहरीले फेला पारेको छैन । उनी झुण्डिएकी पनि थिइनन् ।

प्रहरीले उनले कसरी आत्महत्या गरिन् भन्ने विषयमा अनुसन्धान जारी रहेको बताएको छ । तर, घटनास्थलको अवस्था र घटनास्थलमा फेला परेको सुसाइट नोटका आधारमा रोशनीले आफैँ आत्महत्या गरेको निस्कर्ष प्रहरीको छ ।

अहिलेसम्म उनले ओभरडोज औषधी सेवन गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले आफन्तसँग सोधपुछ गर्दा रोशनीले यसअघि पनि आत्महत्याको प्रयास गरेको र बेला-बेलामा आवश्यकभन्दा बढी औषधी सेवन गर्ने गरेको खुलेको छ ।

उनी पछिल्लो समय डिप्रेसनको बिरामी थिइन् र नियमित औषधी सेवन गरिरहेकी थिइन् । आइतबार पनि उनले त्यही औषधी बढी खाएको हुन सक्ने अनुमान प्रहरीको छ । रोशनीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

पोस्टमार्टमबाट केही कुरा खुल्न सक्ने प्रहरीको अपेक्षा रहेको छ ।

उनले बढी औषधी वा विष खाएको पत्ता लगाउन भने भिसेरा परीक्षण गरिने छ । त्यसपछि मात्रै उनको मृत्यु कसरी भयो भन्ने खुल्ने जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले बताए ।

यस्तै, रोशनी मृत फेला परेको कोठामा उनको सुसाइट नोट पनि फेला परेको छ । उक्त नोट रोशनीकै हो भन्ने यकिन गर्न परीक्षण गर्नुपर्छ । प्रहरीले उनको आधिकारीक सुसाइट नोट हो भन्न सकेको अवस्थामा पनि छैन ।

न्यौपानेले भने, ‘त्यहाँ २ पेजको ‘सुसाइट नोट’ भेटिएको छ । तर, उहाँकै हो भन्ने प्रमाणित नभइ हामीले बोल्न मिलेन । तर, त्यो नोटमा आफ्नै कारण मृत्यु रोजेको र कसैलाई आक्षेप लगाइएको छैन ।’

उनले सुसाइट नोटमा विदेशमा भएका छोरासँग माफी मागेकी छन् । छोराका लागि आफूले गर्नुपर्ने कर्तव्य गर्न नसकेको उल्लेख गरेर उनले माफी पनि मागेकी छन् । तर, त्यो नोटमा श्रीमानको बारेमा भने खास केही उल्लेख छैन ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बालकोटमा डेरा गरी बस्ने रोशनीले दिउँसोसम्म पनि ढोका नखोलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।

तीन तले घरको भुँइतलामा उनीहरू बस्थे । प्रहरी, जनप्रतिनिधि र स्थानीय समेत भइ खोलेर हेर्दा रोशनी कोठाभित्र मृत फेला परेकी थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....