काठमाडौंमा पहिलो पटक दोलखा नेवार भाषाको नाटक मञ्चन

प्रकाशित मिति: १३ जेष्ठ २०८२, सोमबार १९:१३


काठमाडौं, जेठ १२ ।
काठमाडौंको रङ्गमञ्चमा पहिलो पटक दोलखा नेवार भाषाको नाटक मञ्चन भएको छ ।

डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो ।

न्यूयोर्क विश्वविद्यालय आबुधाबीमा सन्दर्भ सामाग्रीको रूपमा रहेको ५० वर्षअघि लिखित यस नाटकलाई न्यूयोर्क विश्वविद्यालय आबुधाबीकै सहकार्यमा दोलखा भाषा संरक्षण अभियानअन्तर्गत दस्तावेजीकरणका लागि नाटक मञ्चन भएको हो ।

नाटक हेर्न सो विश्वविद्यालय आबुधाबी शाखामा अध्ययनरत् विभिन्न देशका विद्यार्थी नेपाल आएका थिए । उनीहरूले नाटक निर्माणको प्रक्रियासमेत अध्ययन-अवलोकन गरेका थिए । करिब ३० वर्षअघि दोलखा नेवार भाषामा क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधी गरेका प्राध्यापक डा. क्यारोल जेनेट्टीको नेतृत्वमा विद्यार्थीहरूको समूह नेपाल आएको थियो ।

नाटक ‘मिसामी’ अर्थात् ‘स्वास्नीमान्छे’ले तत्कालीन समयको प्रेमकथासँगै निःसन्तान महिलाले भोगेका पारिवारिक तथा सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको छ । २०३० सालमा लेखिएको यो नाटक दोलखामा सोही वर्ष दशैँको खड्ग जात्राको दिन मञ्चन भएको थियो ।

दोलखा र काठमाडौंका कलाकारहरूको संयुक्त सहभागिता रहेको नाटकको मुख्य भूमिकामा कलाकार सुशीला लक्ष्मी महर्जन, सुलोचना चाकुबजी मानन्धर र अमिर ताम्रकार थिए । साथै, अन्य भूमिकामा सुजना श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ, रिना चाकुबजी, कलावती श्रेष्ठ, रमेश बज्राचार्य र दिप्तान्शु श्रेष्ठले अभिनय गरेका थिए । निर्देशक केदार श्रेष्ठलाई भाषा सहजकर्ताको रूपमा दीप नारायण श्रेष्ठले सघाएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....