आउँदाे शनिबारदेखि मनसुन नेपाल प्रवेश गर्ने सम्भावना, देशका विभिन्न स्थानमा वर्षाकाे सम्भावना

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बुधबार ०८:३६


काठमाडाैं, जेठ १४ ।
यस वर्षको मनसुन अबको तीन दिनपछि अर्थात् आउँदो शनिबारदेखि नेपालको पूर्वी भू-भागबाट प्रवेश हुने सम्भावना देखिएको मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन आगमन अनुगमन बुलेटिनअनुसार यस वर्षको मनसुन यसै हप्ताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भारतको आसामका केही भागहरू तथा भुटान र बङ्गलादेशको पूर्वी भागहरूसम्म मनसुनको आगमन भएको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुबै सरदरभन्दा बढी हुने यसअघि नै प्रक्षेपण गरिसकेको छ ।

सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्छ ।

यस वर्षको मनसुन सरदरभन्दा छिटो नेपाल प्रवेश गर्ने अनुमान गरिएको हो । यसैबीच, आज बुधबार तीन वटा वायुको प्रभावले देशका धेरै ठाउँमा मौसम बदलीको अवस्था रहेकाे छ ।

पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज दिउँसो लुम्बिनी, वागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।

पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज रातिदेखि भने बङ्गालको खाडीको जलवाष्पयुक्त हावा थप सक्रिय हुने भएकाले लुम्बिनीदेखि पूर्वसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् विनोद पोख्रेलले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....