काठमाडौं उपत्यकामा आज एक घण्टा चक्काजाम

काठमाडाैं, जेठ १७ ।
यातायात व्यावसायीले आज शनिबार बिहान एक घण्टा काठमाडौं उपत्यकामा चक्काजाम गर्ने भएका छन् ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले गण्डकी सरकारको राइड सेयरिङ नीतिविरुद्ध भाडाका यातायात व्यावसायीले थालेको चक्काजामको समर्थन गर्दै साथ दिने निर्णय गरेको हो ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ वागमती प्रदेश स्तरीय भेलाले बिहान ११:३० बजेदेखि १२:३० बजेसम्म २७ किलोमिटर चक्रपथ भक्तपुरका मुख्य सडक खण्डमा सवारी साधन राखेर चक्काजाम गर्ने निर्णय गरेको छ ।
यसैगरी, भोलि आइतबार १२:३० बजे माइतीघरमा यातायात व्यावसायीहरुको उपस्थितिमा विरोध सभा हुने भएको छ । माग सम्बोधन नभए १९ गतेदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्ना सवारी साधनहरू घर-ग्यारेजमा थन्क्याई आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
संविधानविपरीत प्रदेश सरकारहरूले ऐन नियमावली बनाएको भन्दै यातायात व्यावसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यावसायी महासंघ, ढुवानी व्यावसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सयुक्त रूपमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति गठन गरेर ७ बुँदे मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
माग पूरा गराउन व्यावसायीहरुले गत मंगलबार यस विषयमा सरोकार राख्ने सबै मन्त्रालयहरूमा ज्ञापन-पत्र बुझाई पत्रकार सम्मेलन गरेका थिए ।
प्रतिक्रिया