आज वर्षा र सहकालका देवताका रूपमा पुजिने राताे मच्छिन्द्रनाथकाे भाेटाे जात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैं, जेठ १८ ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटो आज आइतबार देखाइँदै छ । ललितपुरको जावलाखेलमा आज बिहानैदेखि रातो मच्छिन्द्रनाथको रथमा पूजा गर्नेहरूको ठूलाे भीड लागेकाे छ ।
भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गलमा ल्याइनेत । त्याेसँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रा सकिनेछ ।
भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) ह्वलाः (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्यसमेत रहेका कीर्तिमदन जोशीले जानकारी दिएका छन् ।
किम्वदन्तीअनुसार नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । किसानले दिएको औषधीबाट रानीको आँखा दुख्ने रोग निको भयो ।
पुरस्कार स्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । त्यसबेला भोटो हरायो ।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो ।
हरेक वर्ष साइत हेरेर यो भोटो कस्को हो ? भनेर देखाउने गरिएको विश्वास रही आएकाे छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्वदन्ती रहेकाे छ ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ ।
भोटो जात्राको अवसरमा सरकारले आज काठडाैं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।
यसैबीच, आज नेवार समुदायमा विशेष प्रकारकाे बारा बनाएर सिथिनखः मनाउने गरिन्छ ।
प्रतिक्रिया