व्यावसायी र सरकारबीचको वार्ता निष्कर्षविहीन, मंगलबार पनि देशभर यातायात ठप्प

काठमाडाैं, जेठ १९ ।
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ सञ्चालनसम्बन्धी नियमावलीको खारेजीको मागसहित आन्दोलनमा उत्रिएका यातायात व्यावसायी र सरकारबओचको वार्ता निष्कर्षविहीन बनेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा रहेको सरकारी वार्ता टोली र नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघबीच आइतबार बिहानदेखि सुरु भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
महासंघका महासचिव भरतराज नेपालकाअनुसार गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली संघीय ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने मुख्य मागमा सरकार सहमत नभएपछि वार्ता विफल भएको हो । ‘सरकारी पक्षले नियमावली स्थगित गर्ने अधिकार आफूहरूसँग नभएको भन्दै माथिल्लो निकायबाट पहल गर्नुपर्ने बताएपछि वार्ता रोकिएको हो,’ महासचिव नेपालले बताए । वार्ता निष्कर्ष विहीन भएपछि भोलि मंगलबार साढे १० बजे पुनः बस्ने गरी बैठक स्थगित भएको छ ।
योसँगै मंगलबार पनि देशभर सार्वजनिक यातायातका साधन नचल्ने महासंघले जनाएको छ ।
प्रतिक्रिया