‘नक्कली प्रचण्ड’का रूपमा परिचित अभिनेता घनश्याम गौतमको निधन

काठमाडाैं, जेठ २० ।
‘नक्कली प्रचण्ड’ का रूपमा परिचित अभिनेता घनश्याम गौतमको निधन भएको छ ।
भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । ४३ वर्षका उनी दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए ।
गौतमले लामो समय ‘मेरी बास्सै’ टेलिशृंखलामा अभिनय गरेका थिए । हातेमालो सञ्चारमार्फत् रंग क्षेत्रमा सक्रिय गौतम गाईजात्रा प्रहसन, सडक तथा रेडियो नाटकका उत्कृष्ट कलाकार मानिन्थे ।
उनी अभियान थिएटरमा पनि सक्रिय थिए । यसका अतिरिक्त उनी विभिन्न स्कूलमा पनि अभिनय सिकाउँथे । सबैभन्दा प्रसिद्धि भने उनले नक्कली प्रचण्ड बनेर कमाएका थिए ।
कलाकार गौतमको पशुपति आर्यघाटमा आज मंगलबार बिहान अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया