भरतपुरमा वडा नं. १९ को पुनः मतगणना !

काठमाडौं, जेठ १६ ।
भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगिसकेको थियो । सोमबार गणतन्त्र दिवससँगै भरतपुर महानगरपालिकाको मेयर घोषणा हुने प्राय निश्चित जस्तै थियो । यही आशमा आइतबार सुतेका भरतपुरबासीलाई सोमबार बिहानैको खबरले नराम्ररी झस्काई दियो । मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना कार्य स्थगित भइसकेको थियो ।
मतगणना स्थगित गर्नुपर्ने कारणबारे मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणना स्थलको अवस्थाबारे गरेको वर्णनले भरतपुर नगरबासी मात्रै नभएर देश विदेशका धेरै नेपाली आश्चर्यमा परेका थिए ।
कूल २९ वडा रहेको भरतपुर महानगरपालिकामा २७ वडाको मतगणना सकिएको थियो । अन्तिममा पालो परेका वडा नं. १९ र २० मध्ये १९ वडाको मतगणना आइतबार साँझ सुरु भएको थियो ।
प्रतिस्पर्धामा रहेका सबै मुख्य दलले मतपत्र च्यातिनुको कारण भने एउटै दिएका छन् । आफ्नो पार्टीका उम्मेदवारले जित्ने अवस्था बनेपछि प्रतिस्पर्धीले मतपत्र च्यात्यो भन्ने आरोप सबैको छ ।
मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत निर्वाचन आयोगले दिने निर्देशन कुरेर बसेका छन् । चितवनका दलहरूले मतगणना सुरु गर्न र वडा नं. १९ मा पुनः निर्वाचन गराउन माग गर्न थालिसकेका छन् ।
एमालेले पुनः निर्वाचनलाई नमान्ने र तत्काल मतगणना सुरु गर्न माग गरेको छ । चितवन एमालेले यही मागका साथ सोमबार भरतपुरमा विरोध सभा पनि गर्यो ।
आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया