आसन्न महाधिवेशनका लागि प्रतिनिधि छान्न राप्रपाको जिल्ला अधिवेशन

काठमाडौं, माघ २५ ।
पार्टी एकीकरणपछि आसन्न महाधिवेशनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशभर जिल्ला अधिवेशन गरिरहेको छ । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न सो अधिवेशन गरिएको हो ।
देशका ७५ जिल्लामा एकै दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो अधिवेशनमा प्रत्येक जिल्लाबाट नौ जनाको अनुपातमा देशभरबाट छ सय ७५ जना केन्द्रीय प्रतिनिधि छनौट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
सोही अधिवेशनबाट एक अध्यक्षसहित ६५ प्रतिशत सदस्यको निर्वाचन गरिने छ भने बाँकी ३५ प्रतिशत सदस्य तथा पदाधिकारी मनोनित गरिने छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट २५ सदस्य तथा १० वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६५ सदस्य जिल्ला प्रतिनिधिका रूपमा छनौट हुने छन् ।
महाधिवेशन प्रयोजनका लागि पार्टीले करिब २० लाख साधारण सदस्यता वितरण गरेको बताइएको छ । काठमाडौंको धुम्बाराहीमा भइरहेको पार्टीको काठमाडौं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व छनौट गर्ने प्रयास हुने जनाइएको छ ।
प्रतिक्रिया