निर्वाचनको विकल्प भनेकै निर्वाचन मात्रै भएको प्रम दाहालको दाबी

काठमाडौं, जेठ १६ ।
स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ ।
मुस्लिम प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज एक ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति अघि पछि गर्न आग्रह गरेका हुन् । मुस्लिम समुदायको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने, ‘सरकार तपाईंहरूको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरूसँग छलफल गरेर निर्णय गर्छाैं ।’
प्रधानमन्त्रीले स्थानीय तहको दोश्रो चरणको निर्वाचनलाई सम्पन्न बनाउन आम नेपालीको साथ र सहयोगको अपेक्षा गरेको समेत सो अवसरमा जानकारी दिए । उनले भने, ‘असारमा चुनावको मिति तोकिएको छ, मनसुनका कारण चुनाव प्रभावित होला की भन्ने चिन्ता पनि छ । हामीले जुन कुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक सङ्क्रमणको अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजाने छ ।’
प्रधानमन्त्री दाहालले निर्वाचन गर्नैपर्ने बाध्यताका बीचबाट रमजान पर्व प्रभावित नहुने गरी व्यवस्था गर्न सरकारले आवश्यक निर्णय गर्ने र सबैलाई सहभागी गराउने उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचन नभए सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्रजस्ता उपलब्धिलाई संस्थागत गर्न कठिन हुन्छ । निर्वाचनको विकल्प निर्वाचन मात्रै हो, अरू हुनै सक्दैन ।’
सोही अवसरमा मुस्लिम समुदायका प्रतिनिधिले असार ९ गते रमजान पर्व पर्ने भएकाले मुस्लिम समुदाय निर्वाचनमा सहभागी हुन कठिनाई हुने बताउँदै सो दिनका लागि तोकिएको मिति तल माथी गर्न माग गरेका थिए ।
यस्तै प्रतिनिधिमण्डलले सो दिनका लागि कक्षा ११ को परीक्षासमेत स्थगित गर्न प्रधानमन्त्री दाहालसँग माग गरेका छन् ।
प्रतिक्रिया