नेपाली सेनाको विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं, जेठ १७ ।
नेपाली कांग्रेसले बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको एनए ४८ स्काई प्लग जहाज मंगलबार दुर्घटनामा परी विमान चालकको मृत्यु र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
सभापति शेरबहादुर देउवाले घटनामा परी दिवङ्गत भएका विमान चालक कैलाश गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको कांग्रेस पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
साथै कांग्रेसले दाङ लमही निवासी पार्टीका क्रियाशील सदस्य, साहित्यकार एवं पत्रकार मेदिनीकुमार केवल (तिवारी) को निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
दार्जिलिङ र सिक्किममा आयोजना हुन लागेको साहित्यसम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा शनिबार उनको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । स्व. केवलले नेपाली जनसम्पर्क समिति भारतको विभिन्न पदमा रहेर कार्य समेत गरेका थिए ।
नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय केवलले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया