साँखुमा स्थानीयबासीद्वारा बन्दको आव्हान, बिहानैदेखि तनाव, दर्जनौँ पक्राउ

काठमाडौं, माघ २६ ।
शंखरापुर नगरपालिकाको पहिचान समाप्त गर्न खोजेको भन्दै स्थानीयबासीहरू आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनको नेतृत्व सुरुमा विभिन्न दलका नेताहरूले सुरुवात गरेको भए तापनि अब स्थानीयबासी आफैँ स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिँदै आज एकाएक बन्दको आव्हानसमेत गरेको हो । आज बिहान ५ बजेदेखि १० बजेसम्म साँखु क्षेत्र एकाएक यसरी बन्दको आव्हान गर्दा अहिले चलिरहेको शालीनदी मेलामा आउने भक्तजनहरूलाई समेत प्रभाव परेको छ ।
बन्दका कारण अहिले भक्तजनहरू गाडी र मोटरसाइकल अलि परै रोकेर हिँडेर मेलामा जान बाध्य भएको स्थानीय हाम्रा संवाददाता कृष्णमान सक्वले जानकारी दिएका छन् । उनकाअनुसार बन्द आव्हानकर्ताहरू मध्ये एलपी श्रेष्ठ, ओम कार्की, मनोज, सुवर्ण श्रेष्ठलगायत दर्जनौँलाई प्रहरीले पक्राउ गरिसकेको छ । योभन्दा अघि हिजो मंगलबार स्कूल बन्दसमेत गरेको थियो । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपछि अहिले जुलुस प्रदर्शन गर्नुका साथै नारा लगाउने कार्य जारी रहेको छ ।
सोमबार सरकारी कार्यालयहरूमा तालाबन्दी गरेको र त्यसको अघिल्लो दिन नगरपालिका र वडा कार्यालहरूमा तालाबन्दीसमेत गरेको थियो । स्थानीयहरूले यदि आफूहरूको माग पूरा नगरेको खण्डमा अनिश्चितकालीन बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।
प्रतिक्रिया