भरतपुर काण्डको विषयमा छानविन टोलीले प्रतिवेदन आयोगलाई बुझायो

चितवन, जेठ १७ ।
भरतपुर महानगरपालिकाको मतगणना जारी भइरहेको समयमा मतपत्र च्यातिएको विषयलाई लिएर झडप हुँदा मतगणना स्थगित गरेको थियो । त्यही विषयमा निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो । मतपत्र च्यातिएपछि तनाव सृजना भएका कारण निर्वाचन आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।
टोलीले सोमबार नै काम थालेको थियो । मंगलबार दिउँसो काम सकाएर फर्किएको टोलीले आज आफ्नो प्रतिवेदन आयोगमा बुझाएको हो ।
आयोगले यो विषयलाई छिटो टुङ्ग्याउने पक्षमा छ, प्रवक्ता शर्माले भने, ‘निर्वाचन आयुक्तहरूले सम्भवतः आजै बैठक बसेर यसबारे निचोड निकाल्न सक्छ ।’
टोलीमा सहजकर्ताका रूपमा सहभागी हुनुभएका उपसचिव कृष्ण अधिकारीकाअनुसार टोलीले आफ्नो राय दिन नमिल्ने भएकाले भेट गरेका व्यक्तिले जे–जस्तो बताएका छन्, ती भनाईलाई प्रतिवेदनमा समावेश गरिएको छ ।
टोलीले राजनीतिक दलका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीहरू सँग समेत छलफल गरेका थिए ।
प्रतिक्रिया